साझा नेटवर्क
-राजन पोखरेल ।
के हो आत्महत्या ? सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।
धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सिधै नर्कमा जान्छन् भन्ने मान्यता छ । मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति रोग हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ ।
हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ । संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्ने विभिन्न तथ्यांकले जनाउँछ ।
आत्महत्याको कारण
सामान्यतः आत्महत्याको प्रमुख कारण सामाजिक नै मानिन्छ तर आत्महत्या केवल सामाजिक कारणले मात्र हुने गर्दैन । आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहन्छ । वास्तवमा आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो ।
त्यसैले आत्महत्याका विविध कारणहरू हुन सक्दछन् । तर आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित भएका हुन्छन् । तर सबै मानसिक रोगहरूले आत्महत्या तथा आत्मक्षति गर्छन् भन्ने छैन । १५ देखि २० प्रतिशत डिप्रेसनका रोगीहरूले आत्महत्याको प्रयास गर्छन् ।
डिप्रेसन (निराशा) वा समस्या नै प्रमुख कारण
डिप्रेसन९निराशा० नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या गर्छन् । मानिसलाई डिप्रेस्ड बनाउने निम्नलिखित सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्दछन् ।
गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर, एड्स आदि, परीक्षामा असफलता, प्रेममा बिछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भ, व्यापार(व्यवसायमा घाटा तथा क्षति, धेरै ऋण, सामाजिक अपमान तथा बहिष्कार, आत्मसम्मानमा ठेस ९जस्तैः झुटो आरोप, उपेक्षा, लाञ्छना, जागिरबाट बर्खास्ती, अरूको सामु बेइज्जती आदि ।
प्रियजन तथा आफन्तको मृत्यु, मानसिक अन्तरद्वन्द्व, मद्यपान तथा दुर्व्यसन, पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कटुता, यौन समस्या, दाइजोसम्बन्धी समस्या, घरेलु हिंसा तथा पारिवारिक कलह, बेरोजगारी तथा आर्थिक समस्या, बलात्कारको पीडा, आत्महत्याको पारिवारिक इतिहास आदि ।
यहाँ उल्लेखित यी विविध विषयले मानिसमा एक खालको तनाव उत्पन्न हुन्छ र उसलाई व्यापक निराशाको खाडलमा जाकिदिन्छ, जहाँबाट दलदलमा फसेजस्तो गरि फस्न पुग्छ । कमजोर मानसिकता भएका त्यस खालका निराशाले मानिसलाई सहजै त्यहाँबाट मुक्ति पाउन कठिन हुने गर्दछ ।
आत्महत्या गर्नेको मनमा आउने विचार
आत्महत्या गर्ने वा आत्महत्याको विचार गर्ने मानिसको मनमा प्रायः यस्ता विचारहरू पैदा हुने गर्छन् । यो जीवन के हो र रु केही पनि होइन । यस्तो दुःखपीडा सहेर बाँच्नुभन्दा त मर्नु नै बेस छ । मेरो भविष्य अँध्यारो छ । अब केही हुनेवाला छैन ।
म किन बाँचिरहेको छु । मेरो जीवन केही कामको छैन । म बाँच्नुको कुनै अर्थ छैन ।
धरतीको बोझ बनेर बाँच्नुभन्दा मर्नु निको छ । मेरो समस्या अब म मरेमात्र समाधान हुन्छ । यो संसारमा मेरो आफ्नो भन्ने कोही रहेनछ । अब म बाँच्नु र मर्नुमा के फरक रह्यो र यस्तो अपहेलना सहेर बाँच्नुभन्दा त मर्नु नै बेस छ । यो गधाको जस्तो जिन्दगी जिउनुभन्दा त मर्नु नै ठीक छ । जति मेहनत गर्दा पनि जीवनमा केही गर्न सकिन । मेरो कर्म नै फुटेको रहेछ ।
यस्तो फुटेको कर्म लिएर बाँच्नुभन्दा त मर्नु नै निको । मेरो यो रोग अब ठीक हुँदैन । मैले गर्दा सबैलाई दुःख भएको छ । अब म मर्नु नै ठीक छ । जब उपर्युक्त प्रकृतिका विचारहरू व्यक्तिको मनमा लगातार आउँछन् र त्यस्ता व्यक्तिले आत्महत्या गर्ने योजना बनाउने र कुनै पनि बेलामा आत्महत्या गर्न सक्दछन् ।
आत्महत्या गर्न सक्ने मानिसको प्रकृति
मनोवैज्ञानिक जाँचबाट आत्महत्याको सम्भावनाको अनुमान गर्न सकिन्छ । खासगरी निम्नलिखित प्रकृतिका मानिसले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । डिप्रेसन तथा अन्य मानसिक रोगीहरू । धेरै संवेदनशील तथा बिना सोचविचार निर्णय गर्ने व्यक्तिहरू । मानसिक रूपमा अपरिपक्व तथा कमजोर मानिस, जो जीवनका ससाना उतारचढावदेखि थरिकम हुने गर्छन् ।
पारपाचुके गरेका वा एकल जीवन जिउने मानिसहरू असामाजिक व्यक्तित्वहरू । १५ देखि २४ वर्ष तथा ४५ वर्षमाथिका व्यक्तिहरू। आत्महत्याको धम्की दिने तथा पहिला आत्महत्याको कोसिस गरेका व्यक्तिहरू । अरूको ध्यान आकर्षित गरी चर्चामा आउन तथा आफ्नो कुरा लागू गर्न, आफैंलाई चोट पुर्याउने व्यक्तिहरू । यस्ता व्यक्तिको उद्देश्य आत्महत्या गर्ने त हुँदैन, तर असावधानी र उचित उद्धारको अभावमा यस्ता व्यक्तिको मृत्यु हुन सक्दछ ।
समाजमा यस किसिमका आत्महत्या पनि प्रशस्त हुने गर्छन् । हिन्दी फिल्मका नायक अभिषेक वच्चन र नायिका ऐश्वर्या रायको विवाहको बेलामा एक कनिष्ट अभिनेत्रीले आफ्नो विवाह अभिषेक वच्चनसँग भएको दाबी गर्दै हातको नसा काटेकी थिइन्, यदि समयमै उनको उद्धार नगरेको भए उनको मृत्यु पनि हुन सक्थ्यो धन्न मृत्युबाट बचिन् ।
रोकथामका उपाय
माथि भनिएझैं आमहत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको उपज भएकाले आत्महत्याको रोकथाम त्यत्ति सरल छैन । तर, बृहत् प्रयासको थालनी भएमा आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । विकसित देशहरूमा आत्महत्या रोकथामका लागि अनेकौं प्रयासहरू भएका छन् । यस्ता संस्थाहरूले आत्महत्या गर्न खोज्ने व्यक्तिहरूलाई भावानात्मक सहयोग गर्नुका साथै उपयुक्त परामर्शका लागि मार्गदर्शन गर्ने कार्य गर्छन् ।
मानसिक रोग नै आत्महत्याको प्रमुख कारण हो । यसको उचित औषधि–उपचारको व्यवस्था तथा मानसिक रोगीहरूको उचित स्याहारसुसार र रेखदेख गर्ने हो भने ९० प्रतिशत आत्महत्या स्वतः कम हुन्छ । हाम्रोमा मानसिक स्वास्थ्य सेवाबाट अधिकांश नागरिक वञ्चित छन् । सवर्सुलभ उपचार उपलब्ध गराउनेतिर राज्यले ध्यान दिनु आवश्यक छ ।
उचित राज्य व्यवस्था र सरकारी नीति आवश्यक
राज्यमा उचित शान्ति सुरक्षाको व्यवस्था, निष्पक्ष न्यायप्रणाली, विभेदपूर्ण शासनको अन्त्य तथा सामाजिक न्याय भएको खण्डमा आत्महत्याका घटनाहरूमा कमी आउँछ । सत्तामा बस्नेहरूले ब्रह्मलुट गर्ने तर किसानले समयमा मलसमेत पाउन नसक्ने, गरिबले बिरामी पर्दा सिटामोलसमेत खाना नपाउने स्थिति रह्यो भने आत्महत्याको घटनाहरू यसरी नै बढिरहनेछन् ।
परिवारको विशेष रेखदेख
आत्महत्या न्यूनीकरणमा परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ । तीव्र आर्थिक समस्याले पिरोलिएका व्यक्ति, परीक्षामा असफल भएका विद्यार्थी, अन्यायपूर्ण तरिकाले नोकरीबाट बर्खास्त परेका व्यक्ति, अतिप्रियजनको आकस्मिक निधनद्वारा दुःखी भएका व्यक्ति आदिलाई तुरुन्त उपयुक्त पारिवारिक परामर्श तथा सहायताको आवश्यक पर्छ ।
यस्ता व्यक्तिको परिवारले विशेष रेखदेख गर्नुपर्छ । आत्महत्या गर्दा प्रयोग गरिने सामग्री तथा लागूपदार्थहरूको नियन्त्रण गर्ने हो भने पनि रोकथाममा टेवा पुग्दछ । अनुत्तीर्ण भएका विद्यार्थीलाई अभिभावकले राम्रोसँग सम्झाएर–बुझाएर अगाडिको बाटो देखाउन सहयोग गर्नुपर्छ । विद्यार्थीलाई अरूसँग तुलना गरेर गाली गर्ने तथा पिट्ने गर्नु हुँदैन ।
केही वर्ष पहिला एसएलसी मौका परीक्षामा समेत अनुत्तीर्ण भएकी एक छात्रालाई आमाबाले तँ राम्री पनि छैनेस्, एसएलसी पनि फेल भइस्, तलाई अब कसले विवाह गर्छ भन्दै खुब गाली गरेपछि उनले विष सेवन गरी आत्महत्या गरिन् । यस्तो स्थिति आफ्नो परिवारमा नआओस् भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend