logo
  • शनिबार, साउन ९ २०८३

लघुकथा : कोरोनाको सन्त्रास


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

-सबिन बस्नेत ।
हरिले आफ्नो जहान परिबार चिल्ले कुखुरा टिपे झै झिसमिसे बिहानमै घर छोडेर शहर भासिएको आज दश वर्ष भएछ । शहरमा एउटा नाम चलेको बैंकमा काम गर्ने उ, सखारै खानाको टिफिन एक हातले र अर्को हातले झोला टिपेर हिडेपछी घरमा फर्किने समय राती नौ बजे भन्दा पहिले कहिले भएन ।

उसले जसोतसो बाआमालाइ महिना दिनमा सम्झेपनी साथिभाइ, गांउघरका बारेमा खबर सुझबुझ गर्न नपाएको पनि धेरै भैसकेको छ । त्यसो त उ आफुले पाखे भइने डरले कोहि साथिभाइले घर सोधी हालेपनी सिमलटारी नभनी तम्घास, बुटवल भन्दै प्रतिउत्तर दिदै आएको थियो । उता श्रीमति र छोराछोरी पनि पिजा, बर्गरमा रमाउदै गैस्योस र खाइस्योस भनी सभ्य हुने ध्याउनमा आंखा र जिब्रो सकिनसकी घुमाइकन बोल्ने भइसकेका थिए ।

गाउँबाट वृद्ध बाउआमा पोहोरको शिबरात्रीमा छोरालाइ भेटने र पशुपतिनाथको दर्शन गर्ने गरि एक महिना बस्ने सोच बनाइ काठमाडौ आएका थिए । परिबारको एक्लो छोरो भएकोले (बुहारी र नातिनातिना शहर लान्छु भनी एकबचन नसोधी हिडेकोमा ) मन दुखेको भएपनी तल्लारे जेठिलाइ आफुहरु नफर्कुन्जेल भैसी,बाख्रा हेरिदिने र घर धुंवारिदिने जिम्मा दिएर आएका थिए ।

छोराको गल्तिलाइ माफी गरेका उनिहरु राम्रै ब्यबहार हुने आशमा थिए ।तर दुइ चार दिनमा कर्कश बोलि र नातिनातिनाको खिसिट्युरी पछि पन्ध्र दिनमै गाउँघर फर्किएका थिए । आफ्नो चित्त दुखाएका उनिहरु कहिलेकांही फोन हुदापनी घरको दुख लुकाएर आरामै रहेको सुनाउदै चिन्ता नलिनु , आफ्नो परिबारको ख्याल गर्नु छोरा भनी भन्थे । तर दमको रोगले ग्रस्त भएर बुढा बा कति कति बेला सिकिस्त हुन्थे ।

उता आमा कपालमा सेतै हिंउ खनिदा पनि सकिनसकी ग्यासंमा खाना पकाउने, खुवाउने गर्थिन । भर्खरै दुइ हजारबाट तिन हजार भएको वृद्ध भत्ता नि बाच्नको लागी लाखै भएको थियो ।स्थानिय सरकारले पानी घरमै पुर्याइदिएपछी त्यो बुढो ढाड नखुलिएको पनि महिनै दिन भएको थियो।

आज अन्यासै छोरोले बिहान फोन गर्दै भनेछ – आमा ! शहरमा भिडभाडले गर्दा कोरोना भाइरस सर्ने निक्कै डर भो । भारतमा सत्र जनाको ज्यानै गयो रे । ग्यांस, पेट्रोल र खाद्यान्न नपाएको हप्ता दिन भयो । छोराछोरी पनि अत्तालिएका छन । त्यसैले हामी गांउ फर्कने बिचार गरेर टिकट लिइसकेका छौ ।

छोराको कुरा सुनेर आमा अक्क न बक्क भइन ।हातबाट फोन अनायसै भुइमा खस्यो । आमाको मन खुशी भएनी ओठ खुल्न सकेन । किनकी छोरासंगै बुहारि शहर पसेपछी बिश्मुरेको खेत बाझिएको थियो, घरको पाली खसेको थियो । रोगि शरिर उपचार गर्दागर्दै अलिकती पाखो बारी सकिएको थियो ।

कलेटी परेका ओढ्ने,ओछ््याउने कपडा थिए । कालो कराइ र कुच्चेको डेक्ची जुठेल्नामा लडिरहेका थिए । उता बाबा कराउदै थिए – हरिकी आमा मलाइ खट्टाइ नसक्नु भो छिटो तल्लाघरे कान्छालाइ बोलाउ, अस्पताल जानुपर्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend