साझा नेटवर्क
– के वी थापा ।
कसैलाइ सयौं वर्षको जीवन पनि कम लाग्ने हुन्छ त कसैलाई बीस/बाईस वर्षे जवानी पनि बोझ जस्तै लागि रहेको हुन्छ । कसैलाई खुसि हर्ष र आफन्तको मायाबाट निक्लियर बाहिरी दुनियालाई नियाल्ने फुर्सद नै हुँदैन त कसैलाइ यी सब थोकबाट बन्चित बनाउदै रात दिन कल्पना र सपनालाई साकार पार्ने दौडमा संसार देखि नै बेग्लै उछिट्याउदैं अन्धकार जीवन जिउन विवस बनाउदो रहेछ ” पैसा” ।
आखिर कागज कै टुक्रा भएपनि कहिल्यै रद्दीको टोकरीको मुख देख्नु नपर्ने यो पैसा आजको आधुनिक समाजमा सबै सम्बन्ध माथी हावी बन्न पुगेको पाइन्छ । पैसालाई नै भगवान ठान्ने हाम्रो समाजमा ती कुराको बिरोध गर्दै हिड्ने मान्छे पनि समयको चक्र एवं परिस्थितीको खेल भनौं या सांसारिक जिम्मेवारी बहन गर्दै जाने क्रममा “पैसा भगवान नभएपनि भगवानको भाई चाहिँ पक्कै हो” भन्ने तितो यथार्थ स्विकार्न बाध्य भइदो रहेछ ।
के तपाइँले कहिल्यै पूरा रात बसेर चन्द्रमालाई हेर्नू भएको छ ? शायद तपाईंको उत्तर नाई नै होला । हुन पनि हो रात त बनेको नै हुन्छ दिन भरको थकाइ मेटाउदै गहिरो निद्रा लिनको लागि यस्लाइ कस्ले खेर फालोस । तपाइँ आफ्नो ठाउँमा ठिकै हुनुहुन्छ तर आज म भन्छु तपाईलाई यस्तो के हुन्छ रात भर, जस्ले मलाई यति ब्याकुल पारिदिन्छ ।
जुन चन्द्रमालाई हामी टाढाबाट हेरेर तारिफ गरेर कहिल्यै थाक्दैनौं नि उस्को अत्यन्तै नजिक आकाशको सबै भन्दा चम्किलो तारा चम्की रहेको हुन्छ । यस्तो लाग्छ उ बिस्तारै चन्द्रमाको नजिक जाने कोशिस गर्दै छ । तर चन्द्रमा कहिल्यै उस्को भावनालाई बुझ्ने कोशिश नै गर्दैन उ आफ्नै गतिमा अघि बढिरहेको हुन्छ ।
उस्लाइ बेवास्ता गर्दै, प्रत्येक रातमा हुने यो हृदय बिदारक दृश्यको म सायद एक्लो गवाह हुन्छु । म कृष्ण एक बिबाहित पुरुष । तर म एकदम एक्लो छु, यो संसारमा म बुझ्नै सक्दिन म के चाहन्छु या म बुझ्नै चाहदिन म के चाहन्छु । कुरा करिव ९/१० वर्ष पहिलाको हो, जब म कलेज पढदै थिए, राधा पनि मेरै कलेजमा म भन्दा एक ब्याच जुनियर भएर भर्ना भएकी थिइन ।
हुन त हामी एउटै स्कुलमा पढेका थियौं तर बचपन थियो या अरु केही थाहा थिएन हामी एक अर्कालाइ राम्ररी चिनेपनि बोलचाल चाहिँ हुदैनथ्यो । समयको परिवर्तन भनौं या वातावरण या उमेरको खेल भनौं जब उनी कलेजमा आइन उनको भर्नाको फर्म भर्नेदेखि सबै काम मैले गरिदिए । हामी अलिअलि बोलचाल गर्दा गर्दै थाहै नदिई कहिले मनले मनलाई मनमनै चाहन थालेछ थाहा नै भएन ।
साथिहरुको सहयोगले जसो तसो हिम्मत जुटाउदै उनलाइ आफ्नो मनको कुरा भन्ने निश्चय पश्चात् उनी सामु सबैकुरा पोखें कलेज कै छेउको चिया पसलमा । उनको सहर्ष स्वीकृति पाए यसरी कि सायद उनी पनि मलाई स्कुले जीवनबाटै मनमा सजाई राखेकी थिइन प्रतीक्षा थियो त केवल मैले मुख खोल्ने दिनको ।
अलिक आनन्दको श्वास लिदैं मन खुसी, हर्षले गदगद हुन थाल्यो मानौँ यस्तो लाग्थ्यो हामी बिना अक्सिजन बिना कुनै बाधा अवरोध सर्बोच्च सिखर सगरमाथामा पाइला टेक्न सफल भएका थियौं । बिस्तारै प्रेम झ्याङिदै जान थाल्यो । एक कान दुई कान मैदान हुँदै हाम्रो प्रेमको चर्चा प्रायः सबै कलेजका साथीहरु माझ लुकेन यस्तो लाग्थ्यो कलेजको पर्खालले पनि हामिलाई चियाउंदै हाम्रै मायाको चर्चा गर्ने गर्दथ्यो ।
साथीहरु भन्ने गर्थे हाम्रो जोडि अत्यन्तै सुहाउथ्यो रे, हामी बनेका नै एक-अर्का कै लागि रे, कलियुगमा पनि साच्चिकै राधाकृष्णको जोडि देख्न पाइयो यस्तै-यस्तै भन्ने गर्थे साथीहरु । थाहा थिएन सायद जिस्काउदैं भन्ने गर्थे या सत्य नै त्यो त उनैलाइ थाहा थियो होला ।
हाम्रो जिन्दगी हामीलाई परिको कथा जस्तै लाग्न थाली सकेको थियो, हामी दुबैजना एक-आपसमा मिलेर सुन्दर संसार बनाउने लाखौं सपना बुनि सकेका थियौं । तर आज म नितान्त एक्लो बन्न पुगें पुर्णिामाको रातमा ठूलो कालो बादलको छायां या भनौ चन्द्र ग्रहण लागे जस्तै भयो ।
अब तपाईं सोच्दै हुनुहुन्छ होला के नया र के फरक छ यो प्रेम कहानीमा त्यही मिलन भयो अब सायद त्यही दुखान्त बिछोड त हुने होला । यदि त्यसो भय तपाईं गलत सोच्दैं हुनुहुन्छ । यदि मेरा कुनै शब्दले तपाइलाई अपेक्षनिय अन्त्य बुझाइ सकेको भए मलाई माफ गर्नुहोला नत्र हामी त कहिल्यै छुट्टियनौं ।
आफ्नो बि.ए.को पढाइ सके लगत्तै दुबैतर्फबाट पारिवारिक स्वीकृति प्राप्त हुँदै हाम्रो प्रेम दुई आत्मा मात्र नभइ दुई परिवार जोड्ने एक अमर सम्बन्धको रुपमा परिणत हुनपुग्यो या निकि हामी दुबै बिबाह बन्धनमा बाधियौं । बिबाह सम्पन्न भयो, केही समय हासी खुसी बिताउनु पश्चात् हामी आफ्नो भबिस्य निर्माणका निमित्त गाउँ छाडेर शहर पस्ने कुरा गर्यौं घरमा आफन्तलाई सम्झाउदैं हामी शहर पस्यौं ।
शहरमा आफन्तको सहयोगले हामीले बस्ने एउटा कोठा भाडामा लियौं । घरमा फुल्फुलियर हुर्केका हामी अभिबावक नहुदा कति गार्हो हुदोरहेछ बुझ्दै थियौं । तर हामि दुबै मिलेर देखेको या बुनेको सुन्दर सपनाको अघि ती समस्या केही थिएनन । हामी धेरै भौतारियौं काम खोज्दै, गाउँ जस्तो निस्छल, र सफा मन शहरमा कहाँ पाइदो रहेछ र हामी गाउलेलाई के थाहा पहिलो पटक शहर पसेका थियौं ।
शहरको झिलिमिलीको बारे सुन्ने र चलचित्रहरुमा हेर्नू बाहेक अरु के नै हुन्थ्यो र गाउँमा । शहरको हावा-पानी, माटो या शहरको चरम महंगाइ र आधुनिक जीवन शैलिले गर्दा हो कि गाउकै काचों माटोको जस्तो मन पनि त शहरमा छिरेको केही समय मै शहरको सिमेन्ट जस्तै हुने गर्दो रहेछ मज्जाले भोग्यौं ।
घरबाट बोकेर आएको पैसा पनि करिव करिब सकिनै लागेको बेला हामी दुबैले अलग-अलग कल सेन्टरमा जब पायौं । वस ! त्यसपछी के थियो हाम्रो जीवन यसरी परिवर्तन भैदियो कि जस्को कल्पना समेत हामीले गरेका थिएनौं । हामि दुनियाको नजरमा संगै भएरपनि संगै भएनौं किनकी नको ड्युटी राती आठ बजेदेखि बिहान आठबजे सम्म त मेरो बिहान आठ बजेदेखि राती आठ बजेसम्म हुन्थ्यो ।
जब म दिन भरको आफ्नो काम सकेर आफ्नो घर भनाउदों त्यो भाडाको सानो झुपडीमा फर्कन्थें त्यति बेला उनि आफ्नो काममा गैसकेकी हुन्थिन । म आफू संग भएको सांचोले चाबी खोल्दै भित्र छिर्ने गर्दथे । एवं रितले ब्यस्तता संगै हाम्रा दिनहरु बित्दै थिए, म बिहान जाने बेला खाना बनाएर खाना संगै टेवलमा “आइ लभ यु” लेखेर राखी जान्थे, बेलुकी आउदां त्यसको प्रतीउत्तरमा उन्को हातको स्वादिष्ट खाना संगै बिहान मैले लेखेको कागजमा पछि “टु” थपिएको पाउथें ।
उनी हिडेकों केही बेरपछि म आउने गर्थें । यसरी नै ब्यस्त हुँदै दिनहरु बित्दै जादा हामी एक अर्काको एक झल्को पाउन वा स्पर्श लिन एक हप्ता पुरै पर्खनु पर्ने बाध्यता थियो हाम्रो बिच । एवं रितले दिनहरू बित्दै जादा हप्ता, महिना, बर्ष गर्दै लामो समयसंगै हाम्रो जीवन ब्यस्तबाट अस्त ब्यस्त भए जस्तो लाग्न थाल्यो । एकदिन छुट्टिको दिन पारेर मैले उनी संग यी सबै कुरा भन्ने जमर्को गरें राधा तिमी जागिर छाडिदेउ ।
उनको अनुहारमा अचम्म एवं आश्चर्यको भाव छल्किन नपाउदैं उनले प्रश्न तेर्साउदैं भनिन किन ? हामीले बच्चा जन्माउनु छ शहरमा घर लिनु छ, बच्चा पढाउनु छ अहिले काम नगरे कहिले गर्ने केही बर्षको त कुरा हो चली त रहेकै छ जिन्दगी । म उनको कुरा सुनेर अक्क न बक्क भए भनौ या निशब्द भए म केहि बोल्न सकिन या चाहिन ।
केही बेरको अरु रमाइला कुराकानी पश्चात् मैले पुन त्यही कुरा दोहोर्याउदैं आफ्नो मनको पीडा र त्यो तारा अनि चन्द्रमाको कुरा भन्न मुख खोल्नै लागेको के थिए उनले भनिन हेर्नू न मलाइ रातीको ड्युटीले गर्दा निद्रानै पुगेको छैन म सुत्छु है प्लिज ! मैले केही प्रतिवाद गर्न उचित ठानिन र गरिन पनि । उनको कालो लामो केशलाई सुम्सुम्याउदैं बसें उनी निदाउन्जेल जब उनी निदाइन म फेरि अत्यन्तै ब्याकुल बन्न पुगें ।
म फेरि छतमा पुगें त्यही दृश्यको गवाह बन्न तर आज फेरि त्यो तारा टिल्पिलाउदै चन्द्रमाको नजिक जाने असफल कोशिस गरिरहेको थियो । तर सधैं जस्तो उ चम्किलो थिएन, आज उ अलिक मधुरो थियो केही बादलले छोपे जस्तै देखिन्थ्यो । तर चन्द्रमा भने सधैं झैँ आफ्नै गन्तव्य तय गर्न कै लागि हिडिरहेको थियो । बिहान फेरि सधैं जस्तै म आफ्नो काममा जानको लागि तयार हुँदै थिए उन्ले भनिन आज नगए हुन्न र ?
मैले हुन्छ आज जादिन भने त्यो दिनभर हामी घरको आवश्यक सामाग्री लिन बजार गयौं अनि घर फर्क्यौं र म पुन त्यही कुरा गर्दै उनलाई काम छाडन अनुरोध गर्न लागें उनको जवाफ फेरि उही थियो । उनी झर्कन लागिन अब तिमीलाई भनी सकें त कति एउटा कुरा दोहोराई रहेको ? म पुनः निशब्द बन्न पुगें उनी आफ्नो काममा गइन । म सधैं जस्तै छतमा ।
म दिनानुदिन अझै तडपिदै झन ब्याकुल हुँदै जान लागे र मन-मनै निस्चय गरे । अब मै जागिर छाडछु मैले उनलाई सुनाए, उनले सम्झाउन थालिन तर मेरो मनमा के बित्थ्यो त्यो उनी कहाँ बुझ्थिन र ? या त बुझेर पनि अबुझ बनेकी थिइन या बुझ्नै चाहन्नथिन म बुझ्नै सकिरहेको थिइन । यस्तो लाग्न थालीसकेको थियो उनी अब गाउँको काचो माटोबाट शहरिया सिमेन्ट बनी सकेकी थिइन म झनझन ब्याकुल बन्न पुगेको थिए ।
मैले मनमनै निस्चित गरे अब जे होला होला म नै काम छाड्छु । म पनि आफ्नो अठोटमा अडिग हुँदै काम छाडिदिए । त्यो दिन बिहान खाना बनाई उनी आउने प्रतीक्षामा बसिरहे उनी आइन, त्यो दिन उनी घर आउँदा उनको लागि खाना संगै कागज होइन उनको श्रीमान स्वयं नै प्रतीक्षा गरिरहेको थियो । उनी खुसी र आश्चर्यको मिश्रित भावमा सोधिन आज छुट्टी हो ?
मैले बिस्तारै सबैकुरा भने केही बेर त उनले सम्झाउदै भन्न थालिन हेर शहरमा जिउनको लागि सम्झौता गर्नु नै पर्छ केही समय न हो त्यसपछी सबै ठिक हुन्छ मैले पनि उनलाई सम्झाउदैं भने हेर दिनानुदिन समय हाम्रो हातबाट निस्किरहेको छ । तिमी खाली बच्चा – बच्चाको भविष्य भनेर चिन्ता मात्र गर्छौं कहिल्यै मेरो र हाम्रो बारेमा सोचेकी छौ ? कसरी हुन्छ बच्चा, कहिले हुन्छ ?
यदि हाम्रा बाबू बाजेले पनि यसरी नै सोचेका भए आज हामी नै हुने थिएनौं । हामी कृतिम बस्तुमा खुसि र भविष्य खोज्दै र देख्दै हामी आफ्नो वास्तविक खुसी र भविष्य बालुवा जस्तै हातबाट फुस्काउदैं गइरहेका छौँ थाहा छ तिमिलाइ ? संसारमा सबैथोक पैसाले नै किन्न सकिन्न । धेरै लामो बहस चल्यो मैले आफ्नो निर्णय परिवर्तन नगर्ने अठोट सुनाए ।
उनी रिसाउदैं र दुखी हुँदै सुतिन भोलि फेरि त्यही समय र घटना अनि दृश्य दोहोरियो ।उनी झर्को मान्दै भन्न थालिन कति दिनहु मलाइ सुत्न नदिएको रात भर काममा थाकेर आउनु पर्छ । एवं रितले चल्दै थियो हाम्रो जीवन यत्तिकैमा दशै आयो गाउँमा जानू पर्ने भो । घरमा पुग्यौ म निक्कै दुब्लाएको रहेछु घरमा सोध्न लाग्नु भो मैले खासै चित्त बुझ्दो उत्तर दिन सकिन बाहाना मात्र बनाए तर जब रात पर्यो म पुनः घरको बाहिर निक्लेर आकाश हेर्न थाले ।
पुनः त्यही दृश्यको म एक्लो गवाह हेर्दै आखा टिल्पिलाउदै म आफ्ना कलेजका दिनहरु सम्झदैं थिए । यत्तिकैमा त्यो तारा बिस्तारै नजिक नजिक जाने कोसिस गर्दै थियो, बिहानी नजिक आउदैं थियो मेरोपछि सुक्क सुक्क रोइरहेको जस्तो आवाज सुनियो मैले फर्केर हेर्दा त्यहाँ मेरि राधा थिइन । उनले रुदैं भन्न लागिन अब हामी शहर नजाउ है यतै केहि गरेर बसौं शहरको हावा, धुलोसंग पौठे जोरि खेल्दा खेल्दै म पनि कतिबेला सिमेन्ट बन्न पुगे मलाई नै थाहा भएन । मैले तिमीलाई कहिल्यै बुझ्ने कोशिस गरिन मलाई माफ गर…
यस्तै यस्तै भन्दै उनी मेरो अंगालोमा रुदैं थिइन म अनवरत त्यो तारा हेर्दै थिए के थाहा आज मेरो जस्तै चन्द्रमाले पनि त्यो ताराको पीडा, मर्म र चाहना, छटपटाहट र ब्याकुलता बुझिदिन्छ कि उत्सुकता वस हेर्दैं थिए । कतिबेला रात सकिएर उज्यालो हुन पुगेछ पत्तै पाइन ।
बिस्तारै फेरि त्यो चन्द्रमा र त्यो तारा फेरि बिलिन भए त्यही अभिस्ट र अपुरा रहरहरु लिएर फेरि अर्को रातमा त्यही असफल प्रयास दोहोराउन आउने गरी । खै अब अर्कैको बन्ने हो फेरि त्यो दर्दनाक दृश्यको गवाह या बिना गवाह नै त्यो यात्रा चल्ने हो ….. क्रमशः
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend