– टोपलाल अर्याल, गुल्मी ।
मैदानमा मेरो आमाले तीजको गीत मार्फत मनको बह पोख्थिन । धेरै जनाले आफ्नै कथा सम्झन्थे, डुम्फु र मादलुको तालमा न उफ्रने को न होला । धेरै बर्ष भयो मेरो आमा तीजको राम (मेला) हेर्न नगएको । अचेल त्यो चौर र साथीसंगीलाई मेरो आमाको अभाव छ । तर पनि मेरो आमा त्यो अभाव संग सौदावाजी नगर्ने मनसायमा छन् ।
त्यो मैदानमा धेरै गीत गाएर नाचेकी आमा अहिले घरमै खुम्चिएकी छन् अनि त्यसै त्यसै निसास्एिकी छन् । ८ बज्न हुन्थेन, अगुल्टो हल्लाउँदै मेरो आमालाई बोलाउन आउने मास्थिरकी ठुली आमा पनि त्यति खुसी देख्दिन् । साउन लाग्न पर्दैन्थ्यो टाकुरा, तोरीपाटा र गाउँभर तीज लाग्न ।
डम्फु र मादलको तालमा रात बिताउनेहरु पनि अर्को दिन मेलापात पुगेका हुन्थे । चिप्लो र निछम अँधेरो, अगुल्टोको साहारामा लड्दै र पोड्दै तीजका गीत गाएका अनि नाचेका आमाहरु आजभोली बेखुसी छन । भाउजुहरु माइत जाँदा आमा र दिदि बहिनीहरुले गाउँघर रमाइलो हुन्थ्यो । दाइभाईहरुले मादल र डम्फु बजाउने, दिदिबहिनी चाच्ने, आमाहरुले गीत गाउने ‘भँगेरी चरीले मैदानमा लरी लररररररररर………..।
अहिले आमाहरु त गुमनाम भए । श्रीमती पनि पल्लो घरकी जेठानीका कारण आमाहरु जस्तै भएकी छन् । पल्लो घरकी हुनेखाने दिदि सुनले ढाकिएर निस्किदिँदा वल्लो घरकी बहिनी रुदै भित्र पस्छिन् । अरु समय आदर्शले बाँचेका महिलाहरुलाई पनि यो तीजले रुवाएको छ । असारको दोस्रो साताबाटै हो सुनले छापिएर सुटिङ्घ भन्दै महिलाहरु गल्ली गल्ली हिड्न थालेको ।
क्यामेरामा एक पटक झुल्कनकै लागी हजारौको साडी, लाखौको गहना लगाएर हुलका हुल निस्कने दिदिहरुका कारण बहिनीहरु रातीमा सिलिपिङ्घ ट्याब्लेट खाएर सुत्छन । के बहिनीहरुको पनि होइन र तीज ? मैले पनि पछिल्ला तीजहरु बुझ्न छोडिसके । तीज महिलाहरुले वर्षभरिका आफ्ना दुःख, पीर बेदना, चोट र खुशीहरु सार्वजनिक गर्ने माध्यम हुन्थ्यो । जसका लागि महिलाका कुण्ठित सिर्जनाहरु तीजका भाका मार्फत बाहिर आउने गर्थे । समयसंगै नेपालमा तीज मनाउने चलन फेरिएको छ ।
तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले ठाउँ पाएको छ । तीजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ । तीजमा आएको विकृति र भड्किलो फेसनले ‘हुँदा खाने’ महिलाहरुले तीज मनाउन नसकिरहेको स्थिति छ । महिनौं दिनदेखि तीजका नाममा महिला दिदिबहिनीहरु दर र सुटिङ्घमा, महिनौ देखि दाजुभाईहरु दारु र भट्टीमा । यो खाने परम्पराले यहाँ धेरैका घर विग्रिएका समेत छन् ।
पारिवारिक सुख, शान्ति र समृद्धिका लागि आमाहरु तीजमा ब्रत पनि बस्थे । तीजको गीत मार्फत कसैको खुशी पोखिन्थो, कतै दुःख व्यक्त गरिन्थे । अचेत त बर्त पनि फेशन भएछ । जाँड खाएर दिनदिनै जगल्टा समात्ने दाइको लागी भाउजु दिर्घायु जीवनको कामना गर्छिन । भाउजुले दाइको पैतालाको जल, दाईले कोदाको ।
हेर्दा सामान्य लागे पनि अत्यन्तै संवेदना बोकेका हाम्रा परम्पराहरु । एक पटक मनन गरौं यी रीति रिवाजहरुलाई । नारी पुरुषबीचको आत्मीयता, दिदीबहिनीबीचको माया तथा सद्भाव तिजका सुनौला पक्षहरु हुन् ।
तीज पर्व तथा पर्व मनाउने शैलीमा पारिवारिक माया, स्नेह, सद्भाव, सहयोग झल्किरहेको हुनुपर्छ । बिडम्बना पछिल्लो समयमा परम्पराको भव्यताको नाममा विकृतिहरु भित्रिन थालेका छन । अहिले समय एकदमै फरक रहेको छ । सबैले सुनेका छौं, देखेका छौं । तपाई हाम्रो सहभागितामा तीज आउन एक महिना बॉकी रहँदै तीज मनाउन लागिपरेका छौ, विभिन्न कार्यक्रमहरु गरेर ।
यद्यपि कार्यक्रमहरुका स्वरुप, शैली र उद्देश्य फरक छन । प्राय : सामाजिक संरचनासंग जोड्दै संस्कृतिको जर्गेना गर्ने बहानामा कार्यक्रमको भव्यतालाई जोडिएको हुन्छ । सत्य यो होइन । यस्ता कार्यक्रमहरुबाट विकृति बढेर जाने सम्भावना तथ्य सॉचो हो । घरको ऑगनमा, छिमेकीको उपस्थितिमा, आफ्ना वेदनाका वहहरुले गाउँ ब्यूझाउँथे । रमाइला ती पलहरु अब स्मृति बन्दैछन ।
बढ्दो शहरीकणले तीज मनाउने स्थान परिवर्तन हँुदैछ । गाउँको खाली चौर जहाँ सवैको पहँचु पुग्थ्यो, गाउन अनि नाच्न । तर ती चौर, मैदान र दह अहिले तारे होटलतर्फ स्थानान्तरण भैरहेछन् । युग संगै शैली परिवर्तन रे प्याकिङ खाना देखि रिमिक्स गीतहरु । अचम्म लाग्छ तारे होटलमा टाँगिएको व्यानरमा पनि संस्कृतिको जर्गेना भन्ने नारा लेखिएको हुन्छ । कार्यक्रमको स्वभाव हेर्दा, आयोजकको फुर्ति हेर्दा, बटुलेको मासको उपस्थिति हेर्दा आफैमा रवाफिलो तथा आडम्बरी । यो प्रबृत्ति मानवीय संवेदनामाथि गरेको खेलवाड हो ।
तीजको नाममा हुनेले नहुनेलाई प्रदर्शन गरेको आडम्बर हो । आफ्नो आर्थिक रवाफिलो प्रदर्शनीको उपयुक्त स्थलको छनोट हो । अब त पार्टीहरुका पनि दरखाने कार्यक्रम हुन्छन् । कार्यक्रर्ता तान्ने होडबाजीमा सदरमुकामका गल्ली र पखेराहरु खीरले बसाउँछन । आज यो पार्टीले पाँचसय जनालाई दर खुवायो, भोली त्यो पार्टीले हजार जना दर खुवाउँदै छ । नेता ज्यूहरुका कार्यक्रता सदरमुकामकै मात्र हुन् । गाउँमा त खोक्रा नारा भए पुग्छ ।
सॉच्चिकै कुनै वर्गप्रति हामी संवेदनशील हुन खोजेका हौं भने, तीनका झुप्रामा पुगेर कार्यक्रम गरिनु पर्दछ । त्यो वर्गसंगै ऑगनमा बसेर तीज मनाइनु पर्दछ । उनीहरुको पनि मन छ, उनीहरुको जिव्रोमा पनि स्वाद लिने शक्ति छ, उनीहरुलाई पनि गाउन अनि नाच्न मन छ । सोच सबैभन्दा महत्वपूर्ण पक्ष हो । हाम्रो सकारात्मक सोचाइले समाजलाई सकारात्मक गोरेटो तर्फ लैजान्छ । यी सबै बोध हुँदाहुँदै हामीलाई कहिल्यै सोच्ने फुर्सद मिलेन ।
पछिल्लो समयमा हाम्रा कार्यक्रमहरु आर्थिक हिसाबले महंगा हँुदै गएका छन् । हाम्रो रहन–सहनदेखि लवाइ–खवाइ तथा हाम्रो उपस्थिति सबैमा महंगी झल्किरहेको हुन्छ । यसको प्रत्यक्ष असर आर्थिक विपन्नता झेलिरहेको परिवारमा परेको छ । भड्किलो चाडपर्व मनाउने बहानामा ल्याइने कर्जा र त्यो कर्जाबाट गरिने पारिवारिक अनावश्यक खर्चले भोली पीडा झेल्नुपर्ने छ ।
यदि उसले कर्जाबाट पारिवारिक आकांक्षाको जोह गर्न नसकेमा खिन्नताले उसलाई आत्महत्या गर्नेसम्मको वातावरण सिर्जना गर्दछ । तसर्थ यसलाई रोक्नुको विकल्प रहँदैन । यदि हामी सॉच्चिकै तीजलाई अन्तर मन देखि नै हार्दिकताका साथ स्वीकारेका छौं भने हामीले भन्नै पर्दछ – अब छाडौं आफ्नो आडम्बर प्रस्तुत गर्न अनि मानवीय संवेदनासंग खेल्न ।
मानवीय संवेदनासंग खेल्ने र आफ्नो पारिवारिक रवाफ प्रदर्शन गर्न आयोजना गरिएका कार्यक्रमहरुलाई सवैले बहिस्कार गर्नुपर्छ । आफ्नो धरातलमा ओर्लेर तीज मनाऔं । सामाजिक र धार्मिक सद्भाव झल्कने गरी मनाऔं । पारिवारिक माया, स्नेह र सहयोग रहिरहने गरी तीज मनाऔं । तव पल्लो घरकी दिदिसंग वल्लो घरकी बहिनी मेला हेर्न जानेछिन् । देउरानी र जेठानी एउटै आगनीमा नाच्नेछन् ।
बल्ल भरिनेछन हाम्रा चौर र मैदानहरु, खुसीले हौसिनेछन् ती मलिन अनुहार भएका आमाहरु र श्रीमतीहरु अनि एक साथ सवैले भन्नेछन् ‘ तीजको लहर आयो बरीलै ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend