साझा नेटवर्क
कति गज़बको निद्रा लाग्थ्यो,
तिम्रो काखमा
थपक्क राखेर मेरो सिर
झपक्क निदाउँथें एकैछिन
चिम्लेर आँखा, बिर्सेर सारा
क.… ख.… र.….
भुलेर स्कूले मास्टरका छडी,
घडी टक्क रोकिन्थ्यो,
तिम्रै आँखामा संसार घुम्दथें,
तिम्रै मुस्कानमा संसार भुल्दथें,
आमा.…
सात बन डुलेर जसरि,
चरीले आफ्नो बचेरालाई,
खुवाउँथी अमृतका दाना,
को खाइ.… को खाइ.…….
म आफ्नै न्यानो गुँडमा बसेर,
घुटुक्क निलेर तिम्रा पसिना,
कति गज़बको निद्रा लाग्थ्यो,
तिम्रो काखमा ………
थपक्क राखेर मेरो सिर
झपक्क निदाउँथें
एकैछिन……
आमा.………
आज तिम्रो बचेरोको,
पंख लागेको छ,
उडेर सारा जगत,
घुमेर सारा संसारलाई,
आँफैले जोडेर टुक्रा टुक्रा,
बनाएकोछ मखमली,
फर्किन्छ साँझ गुँडमा,
तर आमा.…….
त्यो मखमली गद्दा
आज नरम लाग्दैन।
यी चौरासी ब्यंजन आज
रुखो लाग्दै छ,
तिम्रो काखमा जस्तो
यी रेशमी मलमल भित्र
निद्रै लाग्दैन
तिमि बाट टाढा रहेर
शायद मलाई इन्सोमेनिया भएछ
हो, आमा !!
मलाई इन्सोमेनिया भएछ,
मलाई इन्सोमेनिया भएछ।।
बादल बस्नेत
कास्की – नेपाल
हाल : दिल्ली, भारत
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend