logo
  • शनिबार, साउन ३० २०८३

होस्टलमा फुलेको प्रेम


  • -बादल बस्नेत
  • शनिबार, साउन ३० २०८३

13242167_10206674796856309_1507664541_o-बादल बस्नेत ।
प्रेमका मुना त हामी बीच धेरै पहिलेनै टुसाइ सकेको थियो, हाम्रो प्रेम दुई पाते पलायो जब कक्षा १० को एस.एल.सी परिक्षा अगाडी फेब्रुअरी १४ को दिन हिक्मत गरेर त्यो कागजको टुक्रोमा मेरो मुटु टाँसेर उनि सामु राखिदिएँ। उनको सकरात्मक जवाफ आउँदा मेरो भुइँमा खुट्टा थिएन। मलाई संसार जितेको आभास भैरहेको थियो, हुनपनि मैले उनको मन पो जितेको थिएँ। सबै भन्दा ठुलो मनै त रहेछ नि ! अब मलाई त्यो होस्टल रमाइलो लाग्न थालेको थियो, यो मन चंगा जो भएको थियो। उनि टाडा भए पनि नजिकै आभास गर्थेँ तेसैले त हरपल मुस्कुराई रहेको हुन्थेँ म।

यो हरपलको स्माइली मुहार देखेर मेरा साथीहरुले शायद बुझिसकेका थिए मेरो मनको कुरो, तेसैले त आज भोली होस्टलमा मलाई देख्नासाथ जिस्काउन थाल्थे “बादल बर्षा बिजुली……….” अनि म पनि तेही स्माइली मुहारमा सेता दन्त लहर देखाएर स्वीकार गरिदिन्थें। सात तालको बाटिका सहर लेखनाथमा बर्षेनी हुने लेखनाथ महोत्सव यो साल पनि हुँदै थियो, अचानक एक दिन होस्टल वार्डेन सरको मोबाइलमा मेरो नामको घन्टी बजेछ। सरले बिहानै बोलाएर घर बाट दाईको फोन भन्दै मलाई मोबाइल दिनुभयो, मैले मोबाइल कानमा जोडेको मात्र के थिएँ उता बाट कोकिल कण्ठ गुञ्जियो ‘ओए बन्दर’ केहि समय कुरा गरेपछि कुरो बुजियो उसले आफ्नो साथीलाई बोल्न लगाएर होस्टल वार्डेनलाइ मुर्गा बनाइछ।

बिहानै लेखनाथ महोत्सव जाने निम्तो आइसकेको थियो, उनि र उनका केही साथीहरु होस्टल बाट बहाना बनाएर महोत्सव जाने योजना रहेछ। मलाई पनि बहाना बनाउन सजिलो थियो , बिहानै दाईको फोन आएको थियो नि। म पनि चिटिक्क परेर कपालमा जेल लगाएर जवानी झल्काउँदै मगमगाउँदो अत्तर छर्केर निस्केँ जीवन को पहिलो डेट.…। सल्लाह अनुसारनै हाम्रो भेट भयो अनि लागियो महोत्सव, महोत्सव त एउटा बहाना न थियो मलाई त उसलाई भेट्नु थियो। सबै साथीहरुले १८ पिर्के आधुनिक घुम्ने पिङ् खेल्ने भनेर तम्सिए, एउटा सिटमा २ जना मात्र बस्न मिल्ने हुँदा मलाई उसैसंग बस्न मन थियो। सायद उसले पनि मनको कुरा बुजिछ क्यारे संगै सिटमा आएर बसी। धरहरा जस्तै अग्लो पिङ् द्रुत गति मा घुमेर माथि पुग्दा मुटु नै झसङ्ग हुन्थ्यो। डरले ऊ मै संग चपक्क टासिन पुग्थी अनि मेरो मुटु झनै झसङ्ग हुन्थ्यो, काउकुती लाग्थ्यो , लाग्थ्यो यो पिङ् यसरी नै घुमिरहोस।

अन्तिम परिक्षा नजिक आएकोले होस्टलमा सरहरुको निगरानी अलि धेरैनै रहन्थ्यो, तैपनि कहिले काहिँ होस्टल वार्डेनको मोबाइल केहि समयको लागी गायब हुन्थ्यो अनि मोबाइल फिर्ता हुँदा भित्रको एनटिसीको बयालेंस गायब। येस्तै क्रममा हाम्रो परिक्षा तालिका अनि परिक्षा केन्द्रको बिबरण पनि निस्किएको थियो। खुसीको कुरा उनको र हाम्रो परिक्षा केन्द्र पनि एउटै परेको रहेछ।

अझै खुसीको कुरा तब थाहा भयो जब प्रबेश पत्र हात पर्यो , उनको र मेरो परिक्षा क्रमाङ्क पनि अगाडी पछाडी नै परेको रहेछ, अनि त के चाहियो र ? “दिल खुस दिमाग खराब” हाम्रा प्रेमका पालुवा अझै मौलाउने मौका जुर्दै थियो। परिक्षाको तयारी जोड तोडले चलिरहेको थियो, परिक्षा मिति नजिकिदै गर्दा फेरी अर्को खुसीको खबर मिल्यो। उनीहरुको र हाम्रो स्कूलको एउटै केन्द्र भएकोले परिक्षा दिन जाँदा पनि संगै एउटै गाडीमा लैजाने कुरा भएछ सरहरुको। मलाई ठुलै चिट्ठा परेको जस्तै भयो, अनि एकछिन अनेक कल्पनामा डुब्न थालेछु।

परिक्षाको मिति पनि आयो बिहानै उठेर नुहाई धुहाई गरि हामी तयारी गरिसकेर निस्कन तरखर गर्दै गर्दा हाम्रो स्कूल बस पनि आइपुग्यो। गुरुले पुजा गरेर रातो टिका अनि सुभकामना सहित प्रसादको रुपमा दहि दिनुभयो, अनि म सबै भन्दा अगाडी गएर एउटा सिटमा बसेँ र छेउको सिटमा आफ्नो ब्याग राखेँ। गाडी चलेको केहि समयमानै उनीहरुको स्कूल अगाडी रोकियो, म झ्याल बाट उनीहरु को गेट तिर नजर घुमाउँदै थिएँ। सबै जना निस्किए तर मेरो नज़र उनमा अडियो- खैरो स्किर्ट, सेतो टाईट सर्ट,सेतै रिबन अनि निधारमा रातो टिका हदै राम्री देखिएकी मोरी नज़र हटाउनै सकिन।

ऊ सरासर आएर मेरै छेउको ब्याग काखमा राखेर बस्दै भनि के हेरेको तेसरी खाउँला झैँ ? म पनि जिस्किने मुडमा भनिदिएँ-खानेकुरा।
ऊ रिसाएर ठुस्स परेझै भनि होस्टलमा केहि खान दिएनन् ?
म भने अजै जिस्किने मुडमा भनेँ तिम्लाई कसले बस्नु भन्यो यहाँ, यो त मिनुको लागि रख्देको सिट। मिनु उसकी मिल्ने साथी थिइ अनि मेरी पनि।
ऊ आँखा मर्काउँदै भनी बोलाऊ न त।
अनि हामी दुबै मौन।

परिक्षा दुबैको राम्रै चलिरहेको थियो, अगाडी पछाडी भएकाले दुबैलाई सजिलो भएको थियो। उसको पछाडीको सिट थियो अनि म अगाडी, क्लासमा कोहि गार्ड नभएको मौका पारेर उसलाई जिस्काउने मुडमा भनेँ-
ओई देखियो ऊ पनि झोक्किंदै भन्थी- के ?
एन्सर सिट। फेरी उही पाराले आँखा मर्काउँदै लेखन थाल्थी अनि म पनि।

यस्तै रमाइला पलहरु संगै परिक्षा पनि सकियो र केहि मिठा केहि नमिठा पलहरु मुटुमा संगालेर स्कूले जीवन र होस्टललाइ बिदा गरेर घर तिर लगियो। यो होस्टल देखि फुलेको बादल-बर्साको प्रेम फुलाउने आसामा, अब न त होस्टलको बन्देज थियो न पढाईको टेन्सन अनि घर पनि त नजिक-नजिक थियो नि।

 

बादल बस्नेत
पोखरा, नेपाल
हाल : लक्ष्मीनगर दिल्ली, भारत

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend