साझा नेटवर्क

मौरीपालन सरल व्यवसाय मानिन्छ । कम लगानीमै शुरू गरी राम्रो आयआर्जन गर्न सकिने भएकाले यो व्यवसायमा कृषकको आकर्षण बढ्दो छ । धेरै पहिलेदेखि गरिँदै आएको मौरीपालन नेपालमा परम्परागत रूपमै सीमित थियो । अझै पनि ग्रामीण क्षेत्रका कतिपय घरमा पुरानै पद्धतिबाट मौरी पाल्ने गरिएको पाइन्छ । तर, यसरी गरिएको मौरीपालनबाट राम्रो लाभ हासिल हुन सकेको छैन । देशका तराई, भित्री मधेश र पहाडमा हावापानी तथा भौगोलिक बनावटका आधारमा फरकफरक किसिमले मौरीपालन गरिँदै आएको छ । पछिल्ल्लो समय नेपालमा व्यावसायिक तथा आधुनिक मौरीपालन गर्ने प्रविधि भित्रिएको छ ।
क० एपियरीको छनोट :
मौरीका लागि एपियरी अर्थात् घार राख्ने क्षेत्रवरिपरि सकेसम्म १ देखि डेढ किमी मौरीको चरन बालीका लागि फूल फुल्ने पर्याप्त क्षेत्र हुनुपर्छ । साथै, विषादी प्रयोगबाट टाढा पानीको स्रोतसमेत भएको क्षेत्र आवश्यक छ ।
ख० एपियरीमा मौरी गोलाको प्रबन्ध :

परम्परागत मुढे, खोपेलगायत घार सुधार्ने र त्यसको सट्टा चौकोस तथा आधुनिक घार निर्माण गर्नुपर्छ । सबै आधुनिक घार एकै आकारको हुनु राम्रो हुन्छ । घारलाई ३० सेमीजति उचाइको स्ट्याण्डमाथि राखेर अगाडिपट्टि ढल्काउनुपर्छ । साथै, स्ट्याण्डको चारओटै खुट्टामा पानीले भरिएको कचौरा राख्नुपर्छ । प्रवेशद्वार अगाडि खुला ठाउँ छाड्नुपर्छ भने स्थानीय जातको मौरीको दुई घारबीचको दूरी कम्तीमा १ मिटर हुनुपर्छ ।
ग० प्रतिकूल मौसममा मौरीको व्यवस्थापन :
गर्मीयाममा चर्को घामबाट बचाउन छहारीको व्यवस्था गर्नुपर्छ । प्रवेशद्वार ठूलो पार्नुपर्छ र मौरीका लागि घारबाहिर भाँडोमा नुनिलो पानी राख्नुपर्छ (१ लिटर पानीमा ५ देखि ८ ग्राम नून) ।
– जाडोयाममा घारवरपरका प्वाल थुन्ने, प्रवेशद्वार दक्षिण दिशातिर राख्ने, बोरालगायत घारमाथि राखेर छोपिदिने, खानाको अभाव भएमा चिनी (चास्नी) दिने तथा कमजोर गोला आपसमा संयोजन गर्ने ।
– ग्रीष्म तथा वर्षायाम मौरीका लागि कष्टकर समय हो । यस मौसममा मौरीको रोग र शत्रु बढी देखापर्छन् । यो समयमा प्राकृतिक आहाराको कमी हुने भएकाले कृत्रिम आहाराको व्यवस्था गर्नुपर्छ । यो समय मौरीले गृह त्याग गर्न सक्ने सम्भावना बढी भएकाले प्रवेशद्वारमा रानो ढोका प्रयोग गर्ने । रोगी गोलाको तुरुन्तै औषधि गर्ने । निरीक्षण गर्दा घार धेरै बेरसम्म खुला नराख्ने ।
मौरीको गोला रोगकीराबाट बचाउने तरीका :
रोगी गोलाको पहिचान
छाउराकोे रङ धमिलो र खैरो देखिन्छ । साथै, चाकामा छाउरा कम र छरिएका हुन्छन् । चाकाबाट नराम्रो गन्ध आउनुका साथै आसनबोर्डभित्र मरेका छाउरा प्रशस्त देखिन्छ । त्यस्तै, घारबाहिर रोगी मौरी उड्न नसकेर घस्रेर हिँड्छन् भने भित्र जताततै मौरीको बिष्टा देखिन्छ ।
मौरीको उपचार
व्यवस्थापनमा सुधार गर्नुपर्छ । ईएफबी रोगको उपचारका लागि एण्टिबायोटिक अक्सिटेट्रासाइक्लिन वा टेरामाइटिन २५ मिलिग्राम प्रतिफ्रेमका दरले चिसोे चास्नीमा मिसाई ३ दिनसम्म लगातार दिनुहोस् । त्यस्तै, १ ग्राम औषधि १ लिटर चास्नीमा मिलाएर मौरी, छाउरा चाकालगायतमा ५ दिनसम्म लगातार स्प्रे गरेर पनि उक्त रोगको नियन्त्रण गर्न सकिन्छ । सुलसुलेको रोकथामका लागि २ मिलिग्राम प्रतिफ्रेमका दरले ८५ प्रतिशत फर्मिक एसिड एब्जर्भेण्ट कार्डबोर्डमा राखेर थोरै कपासको डल्लोमा भिजाई सानो बट्टाभित्र लगाएर आसन बोर्डमा राख्नुपर्छ ।
रोगको रोकथाम
मौरीको घार फोहोर पोखरीको छेउछाउभन्दा टाढा राख्नुपर्छ । सकेसम्म बगिरहेको पानीको स्रोत नजिक राख्नु राम्रो हुन्छ । सबैभन्दा स्वस्थ गोला पहिले र क्रमशः कमजोर घार अन्तिममा निरीक्षण गर्नुपछ । हरेकपटक निरीक्षण गर्दा हात र प्रयोग भएका सामग्री राम्रोसँग साबुनपानीमा पखाल्नुपर्छ । एपियरीमा बलियो गोला मात्र राख्नुका साथै कमजोर गोलालाई संयोजन गर्नुपर्छ । धेरै नै रोगग्रस्त गोला भएमा एपियरीबाट टाढा राख्ने वा जलाउने गर्नुपर्छ ।
मौरीको गोलाको व्यवस्थापन :
क० चैत–वैशाख
एपियरीमा मौरी गोलाको प्रबन्ध मिलाएर परम्परागत घार सुधार वा आधुनिक घार सफा गरी मौरी राख्नुपर्छ । गोला निरीक्षण गरी हुल वा निवासबाट भाग्न सक्ने गोला छुटाई गोलाको वृद्धि गर्नुपर्छ । रानो पुरानो छ भने नयाँ राख्नुपर्छ । मौरीको सङ्ख्या बढ्दै जाँदा खाली चौकोस थप्ने तथा छाउरा कक्ष भरिएपछि मह कक्ष ‘सुपर’ राख्ने गर्नुपर्छ । यस समयमा तापक्रम बढ्ने भएकाले रोगको आक्रमण पनि बढ्न सक्छ । यसमा विचार पु¥याउनुपर्छ । त्यस्तै, हावा नियन्त्रणका लागि घारमा प्वाल मिलाउनुपर्छ । मह कक्ष भरिएर ९० प्रतिशतजति कोष टालिएपछि मौसमअनुसार मौरीका लागि पनि छोडेर महदानीको सहायताले मह काढ्नुपर्छ ।
ख० जेठ–असार
चर्को गर्मी भएमा घारवरिपरि पानी छर्किएर घार नियमित निरीक्षण गरी गोला स्वस्थ राख्नुपर्छ । घारवरिपरि नूनपानी ९१ लिटर पानीमा ८ ग्राम नून० राखिदिनुपर्छ । चरण स्थानान्तरण गर्नुका साथै कमजोर गोला बलियो गोलाबाट सानुपर्छ । मौरीको घारमा अरिङ्गाल, बच्छ्युँलगायतको आक्रमण हुने भएकाले त्यसको पहिचान गरी नियन्त्रण गर्नुपर्छ । साथै, कमिलाबाट बचाउन घारको खुट्टामा कचौरा राखी पानी भरिदिनुपर्छ ।

ग० साउन–भदौ
यो समयमा मौरीको आहारामा कमी हुने भएकाले यसप्रति ध्यान पु¥याउँदै चास्नीको व्यवस्था गर्नुपर्छ । साथै, मैनपुतलीको प्रकोप हुने भएकाले नियन्त्रण गर्नुपर्छ । वर्षाबाट घारलाई जोगाउनुपर्छ ।
घ० असोज–कात्तिक
रानो धेरै पुरानो भएमा नयाँ फेर्नुपर्छ । यतिखेर मौरीको सक्रियता बढ्ने भएकाले मौरीको निवासको व्यवस्थापन गर्नुपर्छ । आवश्यकता परे उपयुक्त क्षेत्र छनोट गरी स्थानान्तरणसमेत गर्न सकिन्छ । यो मौसम पनि वसन्त ऋतुमा झैं हुने भएकाले आवश्यकताअनुसार घारको व्यवस्थापन गर्नुपर्छ ।
यसबाहेक अन्य महीनामा भने मौरीपालनका लागि सामान्य हेरचाह नै पर्याप्त हुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend